गुल्मी । लगातारको वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्ड अखेर सञ्चालनमा आएको छ ।
कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको संयुक्त पहलमा डोजर तथा एक्साभेटर प्रयोग गरी लेदो र ढुङ्गासहितको पहिरो हटाइएपछि बुधबार बेलुकादेखि यातायात सुचारु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार पहिरो सफा गरिएसँगै रोकिएका सार्वजनिक तथा अन्य सवारीसाधन अहिले आ-आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् ।
सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको विभिन्न स्थानमा पहिरो जाँदा केही समययता तम्घास, बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ आउजाउ गर्ने यात्रुहरू निकै मर्कामा परेका थिए ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले मुख्य करिडोरसँगै पालिकाभित्रका अवरुद्ध बनेका सबै शाखा सडकहरूको पहिरो हटाएर पछि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

