काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी १५औं साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेसँगै नेपालको सहभागिता औपचारिक रूपमा गुमेको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्ध कायमै राखेपछि नेपाल प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।
साफले सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भएमा नेपाललाई समावेश गराउने अन्तिम समयसीमा तोकेको थियो । तर, तोकिएको अवधिभित्र फिफाबाट प्रतिबन्ध नहटेपछि नेपालबिना नै प्रतियोगिताको नयाँ तालिका जारी गरिएको छ । फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै फिफाले गत असार ११ गते एन्फालाई निलम्बित गरेको थियो ।
यसअघि अगस्ट १ मा भुटानको थिम्पुमा निकालिएको ड्र अनुसार नेपाललाई आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’ मा राखिएको थियो । समूह ‘बी’ मा डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
सन् १९९३ मा दक्षिण एसियाली फुटबल प्रतियोगिता सुरु भएयता नेपालले हरेक संस्करणमा सहभागिता जनाउँदै आएको इतिहास थियो । यो निर्णयसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको मञ्चमा देखिने छैन । १५औं संस्करणको साफ च्याम्पियनसिप आगामी नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।

