काठमाडौँ । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभाका दुई विषयगत समितिका बैठकहरू आज आयोजना हुँदैछन् ।
शुक्रबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति एवं विधायन व्यवस्थापन समितिको छलफल तय भएको संसद सचिवालयले जनाएको छ ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले हालै सम्पन्न गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ ।
त्यस्तै, दिउँसो १:३० बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ । सो बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिले तयार पारेका प्रतिवेदनहरू प्रस्तुत गरी छलफल गरिने कार्यसूची रहेको छ ।

