काठमाडौँ । पोखराको बेगनास ताल किनारमा पर्यटकीय रौनक थप्दै छैटौँ बेगनास माछा महोत्सव सुरु भएको छ ।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सञ्चालित यस महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले औपचारिक उद्घाटन गर्नुभयो । कात्तिक २३ गतेसम्म चल्ने यस मेलाले स्थानीय पर्यटन, होटल व्यवसाय र आर्थिक गतिविधिलाई उकास्न ठूलो सहयोग पुर्याउने आकलन गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले पोखरा क्षेत्रका सम्पूर्ण तालहरूलाई आपसमा जोड्ने सडक पूर्वाधार निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइने जानकारी दिनुभयो । तालचोक–बेगनास सडक खण्डको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले महानगरले ताल संरक्षण र पर्यटकीय विकासलाई एकीकृत योजनाका साथ अघि बढाएको स्पष्ट पार्नुभयो । यसका साथै शिशुवाचोक–खुदीखोला सडक सम्पन्न भइसकेको र खुदीखोला–रूपाताल सडक निर्माण जारी रहेको उल्लेख गर्दै बेगनास तालमा जलक्रीडा तथा जलविहार सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महोत्सवमा बेगनास तालमै हुर्किएका स्थानीय प्रजातिका माछाहरूको प्रदर्शनीसँगै विभिन्न स्वादिष्ट परिकारको स्वाद लिन सकिने आयोजक संस्थाका अध्यक्ष सुरेश लामिछानेले बताउनुभयो । मेला अवधिभर आगन्तुकहरूका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ । यस आयोजनले बेगनास तालको पर्यटकीय पहिचानलाई थप फैलाउनुका साथै स्थानीय माछापालक किसान, होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास लिइएको छ ।

