हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्ना नागरिकका लागि सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाएको छ ।
पालिकाभित्रका १५ शय्याको प्राथमिक अस्पताल, पाँचवटा स्वास्थ्यचौकी, दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा दुईवटा सामुदायिक स्वास्थ्य एकाइमार्फत नागरिकलाई कुनै पनि शुल्क नलिई उपचार सेवा उपलब्ध गराउन थालिएको हो ।
विगत दुई महिनादेखि सञ्चालनमा आएको १५ शय्याको हेलम्बु प्राथमिक अस्पतालमा हाल चिकित्सकसहितको टोली र आधुनिक प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा छ । अस्पतालले बहिरङ्ग (ओपीडी) सेवासहित २४ सै घण्टा आकस्मिक सेवा प्रदान गरिरहेको छ । यसका साथै तिलगङ्गा आँखा अस्पतालको सहयोगमा आँखाको नियमित जाँच तथा नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेदिक सेवा समेत निःशुल्क उपलब्ध गराइँदै आएको अस्पताल प्रमुख डा. अनाम प्याकुरेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले ‘स्वस्थ हेलम्बु, समृद्ध हेलम्बु’ अभियानअन्तर्गत सुत्केरी आमाहरूका लागि विशेष प्रोत्साहन रकमको व्यवस्था गरेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने ३ हजार रुपैयाँमा गाउँपालिकाले ३ हजार ८०० रुपैयाँ थपेर सुत्केरी आमालाई कुल ६ हजार ८०० रुपैयाँ पोषण खर्च स्वरूप प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख विदुर ज्योतिका अनुसार बालबालिकाका लागि विशेष स्वास्थ्य प्याकेज तथा दीर्घरोगीहरूलाई निःशुल्क उपचार र औषधिको प्रबन्ध मिलाइएको छ । साथै, पालिकाभित्रका बिरामीलाई थप उपचारका लागि अन्य अस्पताल वा क्षेत्रमा लैजानुपरेमा एम्बुलेन्स सेवा समेत पूर्ण रूपमा निःशुल्क गरिएको छ ।

