काठमाडौँ । उपत्यकाको बढ्दो ट्राफिक जामका बिच आकस्मिक बिरामीलाई समयमै प्राथमिक उपचार पुर्याउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिकाले बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ प्लाजामा आयोजित एक कार्यक्रमबिच महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त बाइक एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गर्दै सेवाको औपचारिक सुरुवात गरिन् । चारपाङ्ग्रे एम्बुलेन्स जाममा अल्झिँदा बिरामीले समयमै उपचार नपाउने समस्यालाई सम्बोधन गर्न यो वैकल्पिक व्यवस्था गरिएको उनले जानकारी दिइन् ।
‘सामान्यतया एम्बुलेन्स भनेपछि बिरामीलाई अस्पताल ओसार्ने साधनका रूपमा हेरिन्छ । तर , हाम्रो मुख्य उद्देश्य जोखिममा परेका बिरामी भएकै ठाउँमा तालिमप्राप्त स्वास्थ्यकर्मी छिटोभन्दा छिटो पुर्याउनु हो ,’ कार्यवाहक प्रमुख डंगोलले भनिन् । बिरामीको जीवन रक्षाका लागि सुरुवाती केही मिनेट (गोल्डेन आवर) अत्यन्तै संवेदनशील हुने भएकाले यो सेवा प्रभावकारी हुने अपेक्षा महानगरको छ ।
बाइक एम्बुलेन्समा खटिने दक्ष स्वास्थ्यकर्मीको टोलीले ठुलो एम्बुलेन्स घटनास्थल नपुगुञ्जेल बिरामीलाई आवश्यक प्राथमिक उपचार दिनेछ । बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्न नदिन तत्काल सेवा दिएपछि, चारपाङ्ग्रे एम्बुलेन्स आइपुगेपछि मात्र बिरामीलाई थप उपचारका लागि अस्पताल पठाउने गरी महानगरले यो प्रणाली तयार पारेको हो ।

