काठमाडौँ । सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका प्रमुख पाँच निर्णयहरू बाहिर ल्याएको छ ।
शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठक सकिएलगत्तै निर्णयहरूबारे सञ्चारकर्मीहरूलाई जानकारी गराएका हुन् ।
बैठकले नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड रूपैयाँ बराबरको अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । यो रकम नगरपालिकाहरूमा स्वच्छ ऊर्जा र रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि परिचालन गरिनेछ । यसैगरी, नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमहरू २०८३ तथा वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ लाई बैठकले स्वीकृति दिएको छ ।
यस्तै, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिनेबारे अध्ययन गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा बनेको समितिले बुझाएको प्रतिवेदन आवश्यक प्रक्रियाका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ ।
साथै, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवातर्फको सचिव पदमा पदोन्नति गर्दै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ ।

