रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका रसुवाका बासिन्दालाई लक्षित गर्दै विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सुरु भएको छ । विपद्बाट प्रभावित सर्वसाधारणका साथै सर्वसाधारणलाई गाउँघरमै आधारभूत स्वास्थ्य सुविधा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
रसुवा कम्युनिटी डेभलपमेन्ट र सिटोप अष्ट्रेलियाको संयुक्त आयोजना एवम् उत्तरगया गाउँपालिकाको समन्वयमा शिविर आयोजना गरिएको हो । बेत्रावतीबाट प्रारम्भ भएको यो शिविर असोज १७ र १८ गते लहरेपौवामा सम्पन्न भइसकेको छ । आयोजक संस्थाका अध्यक्ष बलराम न्यौपानेका अनुसार असोज १९ र २० गते कालिकास्थान तथा २१ र २२ गते धुञ्चेमा शिविर चलाएर समापन गरिनेछ ।
शिविरमा वरिष्ठ चिकित्सकहरूबाट सर्वसाधारणको सामान्य स्वास्थ्य परीक्षण, परामर्श, मुख तथा दाँतको हेरचाह, दाँत भर्ने र निकाल्नेसम्मका सेवाहरू उपलब्ध गराइएको छ । यसका साथै बिरामीहरूलाई आवश्यक औषधिसमेत नि:शुल्क वितरण गरिएको छ । बाढीपहिरो पीडित, नियमित औषधि सेवन गरिरहेका दीर्घरोगी र जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई शिविरमा विशेष प्राथमिकता दिइएको छ ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले यो निःशुल्क शिविरबाट स्थानीय बासिन्दा, विशेष गरी बाढीबाट प्रभावित परिवारहरूलाई ठूलो राहत र सुविधा पुगेको जानकारी दिएका छन् ।

