काठमाडौँ । बाँकेको कोहलपुरस्थित एक पोलिक्लिनिकमा बिरामीमाथि अवाञ्छित व्यवहार भएको घटनाबारे अनुसन्धान गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
असोज १७ गते थापा पोलिक्लिनिकमा घटेको उक्त विषयलाई लिएर अनलाइन उजुरी परेकाले वास्तविकता पत्ता लगाउन समिति गठन गरिएको परिषद्ले जनाएको छ ।
सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो सार्वजनिक भएलगत्तै पीडितले करणीसम्बन्धी कसुरमा प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा पोलिक्लिनिक सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार थापासँग सीएमए उत्तीर्ण गरेको प्रमाणपत्र मात्रै रहेको र बिरामीको उपचार गर्न पाउने आधिकारिक इजाजतपत्र नभएको खुलेको छ ।
हाल बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको छ । साथै, स्वास्थ्यकर्मीको व्यावसायिक आचारसंहिता उल्लङ्घनको पाटोबाट पनि यस घटनाको सुक्ष्म अध्ययन भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

