Khaptad Organic Nepal

जनकपुर । धार्मिक तथा सांस्कृतिक रूपले जोडिएका नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सोमबारदेखि ऐतिहासिक रेल सेवा सञ्चालनमा आएको छ ।

करिब एक हजार तीर्थयात्री बोकेर भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्ट स्टेसनबाट छुटेको १७ डिब्बाको ‘सरयु–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुर आइपुग्ने तालिका छ ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर सोमबार दिउँसो १ बजेर ४५ मिनेटमा रेल सेवाको शुभारम्भ गरेका हुन् । सोही अवसरमा भिडिओ कन्फरेन्समार्फत जोडिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ताली बजाएर रेलको बिदाइ गरेका थिए । नेपाल र भारतबीच सीधा सञ्चालनमा आएको यो नै पहिलो अन्तरदेशीय रेल सेवा हो ।

जनकपुरदेखि अयोध्यासम्मको ६ सय ४ किलोमिटर दूरी तय गर्न यो रेललाई करिब १९ घण्टा लाग्नेछ । रेल भारतको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या पुग्नेछ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार रेल नम्बर १५५९५ र १५५९६ अन्तर्गतको यो सेवा आगामी शनिबारदेखि सातामा एक दिन व्यावसायिक रूपमा सञ्चालन हुनेछ । तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरबाट र प्रत्येक सोमबार अयोध्याबाट छुट्नेछ ।

मंगलबार बिहान जनकपुर आइपुग्ने तीर्थयात्री तथा भारतीय रेल्वे अधिकारीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वागत गर्ने कार्यक्रम छ । स्वागतका लागि जनकपुर रेल्वे स्टेसनमा पण्डाल निर्माण गरिनुका साथै सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने महाप्रबन्धक पराजुलीले जानकारी दिए । भ्रमण टोलीलाई जनकपुरका प्रमुख धार्मिक स्थलहरूको अवलोकन गराउने तयारीसमेत गरिएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्याको राम मन्दिर र जनकपुरको जानकी मन्दिर पुग्ने श्रद्धालुका लागि यो रेल महत्त्वपूर्ण कडी बन्ने बताए । मिथिला र अयोध्याको पौराणिक सम्बन्धलाई रेलमार्गले पुनः जीवित पारेको उल्लेख गर्दै उनले यसबाट जनकपुरको मिथिला चित्रकलाले समेत बजार पाउने विश्वास व्यक्त गरे । उत्तर प्रदेश सरकारले बेहुलीझैं सिंगारिएको उक्त रेलको तस्बिरसमेत सार्वजनिक गरेको छ ।

भारत सरकारको सहयोगमा जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको भंगहासम्म ब्रोडगेज रेलमार्ग निर्माण भइसकेको छ भने पूर्व–पश्चिम रेलमार्गसँग जोड्न यसलाई बर्दिवाससम्म विस्तार गरिँदैछ । हाल उक्त खण्डमा नेपाल सरकारले आफ्नै दुईवटा रेलमार्फत दैनिक तीन पटक यात्रुवाहक सेवा दिइरहेको छ । यसअघि कात्तिकको दोस्रो साता अयोध्याबाट रेल ल्याएर जनकपुरसम्म परीक्षण गरिएको थियो ।

यद्यपि, विगतको तीतो अनुभवका कारण यो रेल सेवाले निरन्तरता पाउनेमा स्थानीय स्तरमा केही संशय पनि देखिएको छ । वि.सं. २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले रामायण सर्किटअन्तर्गत जनकपुर–अयोध्या बस सेवा उद्घाटन गरेका थिए । तर, भाडादर, बिसौनी र सञ्चालन मोडालिटीजस्ता प्राविधिक विषय नटुंग्याई हतारमा सुरु गरिएको उक्त बस अयोध्या पुगेपछि पुनः फर्केर आएन । सोही कारण रेल सेवाले पनि बसकै नियति भोग्नुपर्ने हो कि भन्ने चासो कायम छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।