काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा परेको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडकहरू ठप्प बनेका छन् ।
सडक विभागले जारी गरेको विवरण अनुसार काठमाडौँ उपत्यकासहित बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा आवागमन नराम्ररी प्रभावित भएको छ ।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित टाकुर्चेमा पहिरो खसेपछि कान्तिलोकपथ असोज १५ गते दिउँसोदेखि पूर्ण रूपमा बन्द रहेको छ । उता रसुवामा बाढीले ठूलो क्षति पुर्याएपछि असोज १० गतेदेखि मुख्य राजमार्गका सबैजसो सडक खण्ड ठप्प छन् र अर्को सूचना नभएसम्मका लागि सञ्चालनमा आउन सक्ने अवस्था छैन । गण्डकी प्रदेशको मनाङमा बेँसीसहर-खाङ्सार सडक असोज ८ गतेदेखि अवरुद्ध छ भने म्याग्दीको बेनी–जोमसोम सडक खण्ड अन्तर्गत बैसरी र सुकेबगरमा पहिरो जाँदा असोज १० गतेदेखि सवारी साधन चल्न सकेका छैनन् ।
कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वका घुमाउरीघाट र जन्ती पहिरोमा खसेको पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ, जहाँ ठूला सवारी साधन आवतजावत गर्न सकिरहेका छैनन् । यस्तै कर्णाली प्रदेशको हुम्लामा कर्णाली करिडोर असोज ११ गतेदेखि र सिमकोट–हिल्सा सडक खण्ड असोज १२ गतेदेखि पूर्ण रूपमा ठप्प रहेका छन् । तत्काल सडक सञ्चालनमा आउन कठिन रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्था बुझ्न सडक विभागले चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

