काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गतको ओमान सिरिजमा नेपालले आज क्यानडाको सामना गर्दैछ । लगातार दुई खेल जितेर उच्च मनोबलमा रहेको नेपाली टोली आजको खेलमा पनि जितको लय कायम राख्ने दाउमा छ ।
ओमानस्थित अल अमेरात क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको यस सिरिजमा क्यानडाले भने दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको छ ।
विश्वकप छनोटको सोझो यात्राबाट बाहिरिइसकेको नेपालका लागि अहिले मुख्य चुनौती एकदिवसीय मान्यता जोगाउनु हो । लिग-२ को अंकतालिकामा शीर्ष छ भित्र पर्ने टोलीको एकदिवसीय मान्यता स्वतः कायम रहने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्त्वपूर्ण मानिएका छन् । अंकतालिकाको पाँचौँ र छैटौँ स्थानमा रहने टोली सुरक्षित हुनेछन् भने सातौँ र आठौँ स्थानमा सीमित हुने टोलीको मान्यता जोखिममा पर्नेछ । नेपाल हाल ३४ खेलबाट २८ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ ।
ओमान भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली पठाएको छ । टोलीमा कप्तान लामिछानेसहित आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् ।
यस सिरिज अन्तर्गत नेपालले आफ्नो अर्को खेल अक्टोबर १९ मा घरेलु टोली ओमानविरुद्ध खेल्नेछ ।

