काठमाडौँ । हरेक वर्ष अक्टोबर ४ का दिन मनाइने विश्व पशु दिवस आज नेपालसहित संसारभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
लोपोन्मुख वन्यजन्तु तथा अन्य प्राणीको संरक्षण र उनीहरूको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘उनीहरूको आँखाबाट संसारलाई हेरौँ’ भन्ने आधिकारिक नारा तय गरिएको छ ।
विश्व पशु दिवसको सुरुवात सन् १९२५ मार्च २४ मा जर्मनका हेनरीच जिमरम्यानले बर्लिनबाट गरेका थिए । पछि सन् १९३१ मा इटालीमा भएको पशु संरक्षण सम्मेलनले अक्टोबर ४ लाई आधिकारिक रूपमा विश्व पशु दिवसका रूपमा मान्यता दिएको थियो । सुरुमा जर्मनीमा मात्र सीमित यो दिवस विस्तारै विश्वव्यापी बनेको हो । अक्टोबर ४ कै दिन ११औँ शताब्दीका चर्चित इटालियन सन्त तथा पशु संरक्षक ‘फ्रान्सिस अफ एसीसी’को जन्मोत्सवसमेत पर्छ ।
पर्यावरण सन्तुलन कायम राख्न तथा कार्बन र नाइट्रोजन चक्रलाई निरन्तरता दिन जनावरहरूको ठूलो योगदान रहन्छ । तर, पछिल्लो तथ्याङ्क अनुसार संसारभर मानिसको उपभोगका लागि मात्रै वार्षिक ८० अर्बभन्दा बढी जनावर मारिने गरेका छन् । पूर्वीय दर्शन र हिन्दू परम्परामा भने पशुपन्छीलाई उच्च स्थान दिँदै देवीदेवताको वाहनका रूपमा पूजा गर्ने संस्कार छ ।
विशेषगरी तिहार पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गरी पशुपन्छीप्रतिको सम्मान प्रकट गर्ने गरिन्छ ।

