काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ भने भोलि बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभाव पनि थपिने भएको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली देखिएको छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली हुनेछ भने कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ । यस क्रममा देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का किसिमको वर्षा वा हिमपात हुन सक्नेछ ।
त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मध्यम खालको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
यसका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानहरूमा समेत मध्यम वर्षाको आकलन गरिएको छ ।

