काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा खहरे खोलाबाट आएको लेदो र सडकमाथि खसेको पहिरोका कारण बीपी राजमार्ग दुईतर्फी नै ठप्प बनेको छ । रोशी गाउँपालिकाका दुईवटा स्थानमा बाटो अवरुद्ध भएपछि यस मार्ग भएर चल्ने सम्पूर्ण सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दिएको जानकारी अनुसार रोशी गाउँपालिका–९ स्थित पिन्थलीमा माटो, ढुङ्गा र लेदो थुप्रिएको छ भने वडा नम्बर ८ को गिम्दीबेसी क्षेत्रमा निरन्तर पहिरो खसिरहेको छ । वर्षा र पहिरोको जोखिम कायमै रहेकाले सडक सफा गरेर आवागमन सुचारु नभएसम्म काभ्रेतर्फको यो खण्ड भएर यात्रा नगर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।
सवारी चालक तथा यात्रुहरूलाई अनावश्यक सास्तीबाट बचाउन प्रहरीले वैकल्पिक मार्गको प्रयोग गर्न अपिल गरेको छ । यसका साथै, सडकको ताजा स्थित बुझ्न र आपत्कालीन सहायताका लागि प्रहरीको १०००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

