काठमाडौँ । देशका विभिन्न भागमा अविरल बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू ठप्प भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार हिमाली तथा पहाडी जिल्लाहरू रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्ला जोड्ने प्रमुख सडक सञ्जालमा यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित बनेको हो ।
विशेषगरी मनाङको बेँसीसहर-खाङसार सडकखण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प बनेको छ। यता म्याग्दीको रघुगंगा–२ बैसरी र अन्नपूर्ण–३ सुक्केवारमा ठूलो पहिरो खसेपछि रणनीतिक महत्त्वको बेनी–जोमसोम सडकखण्डमा सवारी आवतजावत शून्यमा झरेको छ ।
नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरका दुई स्थान—बुलिङटारको धुमाउरीघाट र बौदीकालीको जन्ती क्षेत्रमा पहिरो जाँदा सडक एकतर्फी मात्र खुलेको छ, जहाँ ठूला सवारीसाधन सञ्चालन गर्न असम्भवप्रायः छ ।
कर्णालीको दुर्गम जिल्ला हुम्ला जोड्ने सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा–४ यालबाङ र सिमकोट–७ ठाडोढुंगामा पहिरो पन्छाउन नसक्दा आवतजावत पूरै रोकिएको छ । विपद् जोखिमका कारण तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेकाले यात्रुहरूलाई सम्बन्धित प्रहरी वा सडक विभागसँग पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न प्रहरीले आग्रह गरेको छ ।

