जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार बनाउने कसरत सुरु भएको छ जसका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरूबीच तीव्र संवाद अघि बढेको छ ।
कांग्रेस नेतृत्वको मन्त्रिपरिषद्लाई एमालेले दिएको समर्थन झिकेपछि उत्पन्न राजनीतिक रिक्तताका बीच यी दलहरू नयाँ गठबन्धनको खाका तयार पार्न जुटेका हुन् ।
सरकारको बागडोर कसले सम्हाल्ने भन्ने विषयमा आन्तरिक द्वन्द्व कायम रहे पनि चाडपर्वको विदालगत्तै टुंगो लगाउने गरी संवाद भइरहेको सम्बन्धित नेताहरूले बताएका छन् ।
एक सय सात सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ५४ मत कटाउन यी तीन दल एकजुट हुँदा सहजै ६२ सांसदको समर्थन जुट्ने देखिन्छ ।

