काठमाडौँ । अमेरिकाको मध्यावधि निर्वाचन नतिजासँगै कृत्रिम बौद्धिकता (एआई) क्षेत्रको भावी नियमन र लगानीको प्रतिफललाई लिएर आशङ्का बढ्दा विश्वव्यापी प्रविधि बजारमा ठूलो गिरावट आएको छ ।
निर्वाचनमा एआई तथा डाटा सेन्टर विस्तारमा नियन्त्रणको पक्षमा रहेका डेमोक्र्याटहरूले सफलता पाएपछि लगानीकर्तामा चिन्ता छाएको हो । यसको प्रत्यक्ष असर अमेरिकी सेयर बजारमा देखिएको छ, जहाँ प्रविधि कम्पनीहरूको वर्चस्व रहेको न्यास्ड्याक सूचक ५.५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । यस गिरावटबाट एकै दिन करिब २५ खर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमेको छ ।
विशेष गरी एआई चिप र उपकरण उत्पादन गर्ने प्रमुख कम्पनीहरू उच्च दबाबमा परेका छन् । चिप निर्माता कम्पनी एनभिडियाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ भने एएमडी र माइक्रोनको सेयर १७ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । त्यसैगरी इन्टेलको सेयरमा पनि १०.३ प्रतिशतको गिरावट दर्ता भएको छ ।
एसियाली बजारमा पनि यसको गम्भीर प्रभाव परेको छ । जापान, दक्षिण कोरिया र ताइवानका प्रविधि सेयरहरूमा व्यापक बिक्री चाप देखिएको छ । दक्षिण कोरियाको कोस्पी सूचक ८.५ प्रतिशतभन्दा बढीले घटेपछि केही समयका लागि सेयर कारोबार नै स्थगित (सर्किट ब्रेकर) गर्नुपरेको थियो । त्यहाँका प्रमुख प्रविधि संस्था सामसङ र एसके हाइनिक्सका सेयर मूल्यमा पनि दोहोरो अङ्कको हाराहारीमा गिरावट आएको छ ।
बजार विश्लेषकहरूका अनुसार एआई डाटा सेन्टर निर्माणका लागि भइरहेको ठूलो पूँजीगत खर्चको तुलनामा अपेक्षाकृत प्रतिफल प्राप्त नहुने चिन्ताले बिक्री चाप बढाएको हो । यसका साथै डाटा सेन्टरहरूले पार्ने वातावरणीय प्रभाव, अत्यधिक विद्युत् खपत र सम्भावित रोजगारी कटौतीजस्ता विषयमा कडा कानुनी दायरा आउन सक्ने आशङ्काले लगानीकर्ताहरूलाई थप त्रसित बनाएको छ ।

