काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिनसम्म देशका विभिन्न हिमाली तथा पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान अद्यावधिक गरेको बुलेटिनअनुसार तराई, उपत्यका तथा खोचका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने क्रम जारी रहनेछ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईको मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । यस्तै, राति कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
शनिबार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ । मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकीका तराई भेगमा आंशिक बादल लागे पनि बाँकी तराई क्षेत्र सफा रहने महाशाखाले जनाएको छ । शनिबार कोसी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भेग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको प्रक्षेपण गरिएको छ । राति भने कोसी, गण्डकी र कर्णालीका हिमाली भेगमा सोही क्रम दोहोरिनेछ ।
आइतबार मौसममा केही बढी बदली हुने देखिएको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा सामान्यतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । आइतबार राति पनि देशका हिमाली भेग तथा कोसी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ ।
सोमबार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागको मौसम मुख्यतया सफा रहनेछ । कोसीका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
मंसिर १ गते मंगलबार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्ने भए पनि देशका बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । मंगलबार कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । पाँचै दिन तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

