काठमाडौँ । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित ह्वाइट हाउसबाट करिब १.६ किलोमिटरको दूरीमा बिहीबार गोली चल्दा आक्रमणकारीसहित दुई जनाको ज्यान गएको छ ।
स्थानीय समयअनुसार बिहान करिब ८ बजे भएको उक्त घटनामा अन्य चार जना घाइते भएको वासिङ्टन डिसीका प्रहरी प्रवक्ताले बीबीसीलाई जानकारी दिएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलले घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा सुरक्षाकर्मी ३० सेकेन्डभित्रै घटनास्थलमा पुगेको जानकारी दिए । अधिकारीहरूका अनुसार एक श्वेत पुरुष आक्रमणकारीले आक्रमणपछि आफैँलाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
अमेरिकी समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले सुरुमा एक फिटनेस सेन्टरभित्र रहेका व्यक्तिमाथि गोली प्रहार गरेका थिए । त्यसपछि जिमबाट बाहिरिएर पार्किङ ग्यारेजमा समेत गोली चलाउँदा अर्का एक व्यक्तिलाई गोली लागेको थियो । गोली चलेपछि त्यस क्षेत्रमा भागदौड मच्चिएको थियो भने सर्वसाधारणहरू ज्यान जोगाउन नजिकैका पसल तथा घरहरूमा लुकेका थिए । प्रहरीले तत्कालै उक्त क्षेत्रलाई घेराबन्दी गरी स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो ।
प्रहरीले अपार्टमेन्ट भवनको घरधनी सङ्घसँगको विवादका कारण उक्त घटना भएको हुन सक्ने अनुमान गरे पनि आक्रमणको वास्तविक कारण भने अझै पुष्टि भइसकेको छैन । घटनाको पछाडि रहेको विवाद र आक्रमणकारीको उद्देश्यबारे सुरक्षा निकायले थप अनुसन्धान अगाडि बढाएको छ ।

