काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज शुक्रबार प्लेअफ समीकरणका लागि निर्णायक मानिएका दुई महत्त्वपूर्ण भिडन्त हुँदै छन् ।
आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् भने दोस्रो खेलमा साँझ ५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ ।
अंक तालिकामा समान ८ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा रहेका काठमाडौँ र सुदूरपश्चिमबिचको विजेताले सोझै शीर्ष चार अर्थात् प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
त्यस्तै, साँझ हुने दोस्रो खेल जनकपुर र चितवन दुवैका लागि प्लेअफको आशा जीवित राख्न ‘गर या मर’ को स्थितिमा छ । पाँच खेलबाट ५ अंक जोडेको चितवनलाई लिगका बाँकी दुई खेलमध्ये आजको खेल जित्नैपर्ने दबाब छ । अर्कोतर्फ, लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेको जनकपुरको हाल ४ अंक मात्र छ । आजको खेल जितेमा जनकपुरको ६ अंक पुग्नेछ, यद्यपि प्लेअफ प्रवेशका लागि उसले अन्य टोलीहरूको नतिजामा समेत भर पर्नुपर्नेछ ।

