काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई ठूला टोलीहरू जितको खोजीमा आमने-सामने हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो भिडन्तमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमने-सामने हुनेछन् ।
जारी प्रतियोगितामा ३ खेलबाट २ जित र १ हारको नतिजा निकाल्दै कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा सुरक्षित छ । अर्कोतर्फ ४ खेल खेलेको सुदूरपश्चिम रोयल्सले २ जित र २ हारबाट ४ अंक जोड्दै पाँचौँ स्थान ओगटेको छ । अपराहन्न साढे १२ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि शीर्ष स्थानतर्फको यात्रा सुदृढ गर्न महत्त्वपूर्ण हुनेछ ।
यस्तै साँझ ५ बजेदेखि सुरु हुने दोस्रो प्रतिस्पर्धामा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् । चितवनले ३ खेलमध्ये १ जित र १ हार बेहोरेको छ भने उसको १ खेल वर्षाका कारण रद्द भएको थियो ।
लगातार तीन खेलमा पराजय भोगेको पोखरा एभेन्जर्स भने आजको खेलबाट पहिलो जित हात पार्दै प्रतियोगितामा फर्कने दाउमा छ ।

