काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न पहिलो रोमाञ्चक खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ ।
कर्णालीले प्रस्तुत गरेको १८१ रनको लक्ष्य काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।
काठमाडौँको जितमा रशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ५० रनको योगदान दिए भने कप्तान करण केसीले नटआउट रहँदै ४४ रन जोडे । त्यसैगरी जहानदाद खानले २२, आदील आलमले २० र डेभिड वार्नरले १६ रन बनाए । कर्णालीका तर्फबाट बलिङतर्फ सोमपाल कामी र हुसैन तलतले समान २-२ विकेट लिए भने मार्क वाट र नन्दन यादवले १-१ विकेट हात पारे ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको बलियो योगफल तयार पारेको थियो । कर्णालीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाए भने हुसैन तलतले ४०, पवन सराफले ३०, गुलशन झाले २० र मार्क वाटले १७ रन जोडेका थिए । काठमाडौँको बलिङ आक्रमणमा कप्तान करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सनतोष यादवले १-१ विकेट आफ्नो नाममा गरे ।
यो नतिसँगै काठमाडौँले दुई खेलमा पहिलो सफलता हात पारेको छ भने तेस्रो खेल खेलेको कर्णालीको यो पहिलो हार हो ।

