काठमाडौँ । नेपालमा विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था तथा सूक्ष्म पोषक तत्त्वको स्थिति थाहा पाउन ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सुरु हुने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले करिब एक दशकपछि यो राष्ट्रियस्तरको अध्ययन सञ्चालन गर्न लागेको हो ।
सन् २०२६ को अप्रिलदेखि २०२७ को मार्चसम्म चल्ने यस अध्ययनका लागि देशका सातै प्रदेश तथा हिमाली, पहाडी र तराई क्षेत्रका २८० वटा समूहबाट ८ हजार ४०० घरपरिवारका १२ हजारभन्दा बढी नागरिकलाई समेटिनेछ । सर्वेक्षणमा मुख्यगरी ६ देखि ५९ महिनाका बालबालिका, १० देखि १९ वर्षका किशोरकिशोरी, १५ देखि ४९ वर्षका महिला तथा गर्भवतीहरूलाई समावेश गरी भिटामिन ‘ए’, ‘बी१२’, आइरन, आयोडिन, जिङ्क र फोलेट जस्ता पोषक तत्त्वको अवस्था परीक्षण गरिनेछ ।
यसका साथै रक्तअल्पता, संक्रमण र सरकारी पोषण कार्यक्रमको प्रभावकारिता पनि नापिनेछ । सर्वेक्षण सञ्चालनका लागि २०५ जना प्राविधिक तथा सङ्कलकको टोली खटाइनेछ, जसका लागि आगामी नोभेम्बरमा तालिम सञ्चालन गरिने भएको छ । सन् २०१६ पछि हुन लागेको यस सर्वेक्षणले प्राप्त गर्ने तथ्याङ्कले आगामी दिनमा पोषणसम्बन्धी नयाँ नीति तथा कार्यक्रम तय गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ ।

