झापा । झापा जिल्लामा अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको पटका प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट गैरकानूनी ढङ्गले नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा संयुक्त गस्ती टोलीले दुई बोरा पटका बरामद गरेको हो ।
झापा गाउँपालिका–२ स्थित कुवाडी क्षेत्रमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियमित गस्तीका क्रममा उक्त सामान फेला पारेको हो । इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपालको बीओपी टाघनडुब्बाबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीलाई देखेपछि पटका बोकेर आएका व्यक्तिहरू सामान छाडी फरार भएका थिए ।
प्रहरीले घटनास्थलबाट बरामद गरिएका बोराहरू खोलेर खानतलासी गर्दा विभिन्न किसिमका विष्फोटक तथा पड्काउने सामग्रीहरू फेला पारेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बरामद गरिएका ती पटकाहरूको अनुमानित बजार मूल्य करिब एक लाख रुपैयाँ रहेको छ । तस्करले छाडेर भागेका ती सम्पूर्ण पटकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा सुरक्षित राखिएको प्रहरीले जानकारी दिएको छ ।

