चितवन । जङ्गलमा निउरो टिप्न पुगेका एक व्यक्ति बाघको आक्रमणमा परी मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा गएका स्थानीय ४६ वर्षका भीम महतोको शव खोजतलासका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्र भेटिएको हो ।
गत सोमबार दिउँसो दुई बजेतिर चार जनाको टोलीसँगै बेथरी खोलानजिकै निउरो टिप्दै गर्दा महतोलाई जङ्गली बाघले अचानक आक्रमण गरेर लगेको थियो । उनी बेपत्ता भएलगत्तै साथमा रहेका व्यक्तिहरूले साँझ पौने छ बजेतिर इलाका प्रहरी कार्यालय दिव्यनगरमा खबर गरेका थिए ।
घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, निकुञ्ज प्रशासन, स्थानीयवासी र वन टोली सम्मिलित संयुक्त टोलीले खोजी कार्य अघि बढाएको थियो । व्यापक खोजतलासपछि मंगलबार बिहान झण्डै ११ बजेतिर निकुञ्जभित्र उनको शव फेला परेको प्रहरीले जनाएको छ । महतोको शव भेटिएको स्थाननजिकै फेला परेको बाघलाई प्राविधिक टोलीले डार्ट हानेर नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

