काठमाडौँ । चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा भाग लिन जान लागेको नेपाली महिला क्रिकेट टोलीलाई एक कार्यक्रमबीच औपचारिक रूपमा बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राजधानीमा आज आयोजना गरेको बिदाइ समारोहमा आगामी आइसिसी यु–१९ महिला विश्वकपको तयारीका रूपमा यो प्रतियोगितालाई लिइएको जानकारी दिइयो । क्यानका उपाध्यक्ष रोशन सिंहले टोलीले पाएको अभ्यासको अवसरले चीनमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई परिपक्व र संयमित खेल देखाउन सुझाव दिनुभयो ।
त्यस्तै, टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले यस भ्रमणलाई खेलाडीहरूको कमजोरी सुधार गर्ने र अन्तर्राष्ट्रिय अनुभव सङ्गाल्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो । कप्तान सोनी पाख्रिनले पनि प्रतियोगिताका लागि टोलीको तयारी पूरा भइसकेको र उत्कृष्ट नतिजा निकाल्ने दृढता व्यक्त गर्नुभयो ।
भोलिदेखि कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त सिरिजमा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ जहाँ नेपालले यी तीनवटै टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

