काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै जारी सिजनमा पहिलो जित निकालेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १७ रन बनाउँदै एनपिएल इतिहासकै दोस्रो उच्च स्कोर बनायो ।
पोखराका लागि क्यानडाका युवा खेलाडी युवराज सिंह सम्राले शानदार शतकीय इनिङ खेले। साम्राले ४८ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १ सय २ रनको विष्फोटक इनिङ खेले । उनी जारी एनपिएलमा पहिलो शतक प्रहार गर्ने ब्याट्सम्यान समेत बनेका छन् ।
साम्राले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि १ सय ३६ रनको महत्वपूर्ण साझेदारी गरे। कुशल भुर्तेलले ३९ बलमा ७ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय इनिङ खेले । यो जारी एनपिएलमा उनको पनि उच्च व्यक्तिगत स्कोर हो । यस्तै, कप्तान चामिका करुनारत्नेले ११ बलमा ३५ रनको आक्रामक योगदान दिए। कर्णालीका लागि सोमपाल कामीले २ र मार्क वाटले १ विकेट लिए ।
जवाफमा २ सय १८ रनको लक्ष्य पछ्याएको कर्णाली १८ दशमलव ३ ओभरमा १ सय ५४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। त्यसैगरी आरिफूल इस्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ र सुर्य तामाङले १३ रन जोडे । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका डेभिड मिलर भने ७ रनमै आउट भए ।

