काठमाडौँ । राष्ट्रिय मुद्दा र समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले मुलुकमा देखिएका पछिल्ला समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने निष्कर्ष निकालेको हो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा बिचौलिया प्रकरण, अदालत र प्रहरी संगठनमाथि उठेका प्रश्न तथा पत्रकारहरूमाथि भएका धरपकडका घटनाबारे गम्भीर समीक्षा भएको थियो । सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेकाले जननिर्वाचित संस्था संसद्को बैठक तत्काल बोलाउनुपर्ने ठहर विपक्षी दलहरूको छ ।
यसैगरी बैठकपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले न्यायाधीशहरूलाई महाअभियोग लगाउँदैमा न्याय क्षेत्रमा व्याप्त विकृति अन्त्य नहुने बताइन् । उनले समग्र न्याय प्रणालीकै व्यापक पुनर्संरचना गरिनुपर्ने धारणा राखिन् । राष्ट्रिय चासोका मुद्दाहरूमा साझा दृष्टिकोण बनाएर अघि बढ्न विपक्षी दलहरूबीच निरन्तर संवाद गर्ने र जनताका पक्षमा सहकार्य बढाउने निर्णयसमेत बैठकले गरेको छ ।

