काठमाडौँ । विश्वप्रसिद्ध अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट जेन्सेन हुआङले राजीनामा दिएका छन् ।
चिनियाँ नागरिकसँगको प्रेम सम्बन्ध र आन्तरिक आचरणसम्बन्धी विवाद चुलिएपछि कम्पनीको सञ्चालक समितिले बिहीबार उनको राजीनामा स्वीकृत गर्दै नेतृत्व परिवर्तनको औपचारिक घोषणा गरेको हो ।
कम्पनीका अनुसार स्थायी सीईओ नियुक्त नभएसम्मका लागि वर्तमान कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्नेछिन् । सन् २०१३ देखि एनभिडियाको वित्तीय नेतृत्व सम्हाल्दै आएकी क्रेसले अन्तरिम प्रमुखका साथै आफ्नो नियमित सीएफओको भूमिकालाई पनि निरन्तरता दिनेछिन् । सञ्चालक समितिले नयाँ स्थायी प्रमुख कार्यकारी अधिकृतको छनोट प्रक्रिया सुरु गरिसकेको छ, जसमा कम्पनीभित्र र बाहिर दुवै क्षेत्रका योग्य उम्मेदवारहरूको मूल्याङ्कन गरिने जनाइएको छ ।
चिनियाँ जासुसको आरोप लागेकी एलिस हुआङसँगको प्रेम सम्बन्धका कारण अमेरिकी सुरक्षा निकाय र कम्पनीको आन्तरिक छानबिनमा तानिएपछि जेन्सेन हुआङमाथि पद छोड्न तीव्र दबाब परेको थियो । एलिससँगको सम्बन्धबारे हुआङले यसअघि नै स्वीकार गर्दै आफ्नी पत्नी तथा कर्मचारीहरूसँग माफी मागिसकेका छन् ।
यही विवादबिच न्युयोर्क टाइम्सले हुआङको दोस्रो विवाहेत्तर सम्बन्ध कम्पनीकै हेल्थकेयर विभागकी उपाध्यक्ष किम्बर्ली पावेलसँग रहेको विवरण सार्वजनिक गरेको थियो । कम्पनीका पाँच पूर्वकर्मचारीलाई उद्धृत गर्दै प्रकाशित उक्त रिपोर्टले संस्थागत आचरण र सुशासनमाथि थप प्रश्न उठाएपछि हुआङले अध्यक्ष, सीईओ र सञ्चालक समिति सदस्यको पद तत्काल लागू हुने गरी त्यागेका हुन् ।

