काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस (इभी) दुर्घटनामा १४ जनाको ज्यान गएको घटनाप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गहिरो दुःख व्यक्त गरेको छ ।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बिहीबार एक शोक वक्तव्य जारी गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
विज्ञप्तिमार्फत अध्यक्ष सिटौलाले दुर्घटनामा घाइते भएका ६ जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचार र उचित राहतको तत्काल व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
यस घटनाले विद्युतीय सवारीसाधनको सुरक्षा र प्राविधिक पक्षबारे गम्भीर प्रश्न उठाएको महासङ्घको ठहर छ । अध्यक्ष सिटौलाले इभीको उत्पादन, आयात, जडान तथा ब्याट्रीलगायतका प्राविधिक पक्षको नियमित परीक्षण र सञ्चालनका लागि स्पष्ट एवं कडा मापदण्ड बनाएर प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । मानवीय जीवनको सुरक्षालाई सर्वोपरि राख्दै सवारी दुर्घटना न्यूनीकरण गर्नु राज्यको जिम्मेवारी र सबै सरोकारवालाको साझा दायित्व भएको उनले उल्लेख गरेका छन् ।
काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान सडकबाट खसेर दुर्घटना भएको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् ।

