काठमाडौँ । चार दिनसम्म निष्ठा र भक्तिपूर्वक मनाइने छठ पर्वको स्वागतका लागि काठमाडौँ उपत्यकाका नदी किनार, पोखरी तथा जलाशयहरूमा सरसफाइ र घाट निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
उपत्यकामा छठ मनाउने श्रद्धालुहरूको सङ्ख्या बर्सेनि बढ्दै गएपछि यस वर्ष विभिन्न १७ स्थानमा विशेष व्यवस्थासहित छठ घाट तयार पारिएको हो ।
गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायतका क्षेत्रमा पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार उक्त क्षेत्रमा मात्रै ५५७ जना व्रतालुले सहज रूपमा पूजाआजा गर्न मिल्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा सरसफाइ गर्ने, पाल टाँग्ने, झिलिमिली बत्ती जडान गर्ने र अन्य आवश्यक पूर्वाधार बनाउने काम धमाधम भइरहेको उनले जानकारी दिए । काठमाडौँमा छठ मनाउने संस्कृति फराकिलो बन्दै गएको उल्लेख गर्दै सिंहले तयारी करिब पूरा हुन लागेको बताए ।
उपत्यकाका गौरीघाट, गुह्येश्वरी र कमलपोखरीसँगै बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्रमा भव्य रूपमा छठ पूजा गरिन्छ । यसैगरी विष्णुमती र नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारामा पनि श्रद्धालुका लागि घाट व्यवस्थापन गरिएको छ । विगतका वर्षमा झैँ काठमाडौँ महानगरपालिकाले कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुको कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई प्रमुख पूजास्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ ।
धार्मिक विधिअनुसार छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार ‘खरना’ विधि सम्पन्न गरिनेछ । त्यसको भोलिपल्ट कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई र कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि चारदिने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।
मुख्यतया तराई मधेशमा हर्षोल्लासका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका पहाडी र हिमाली भेगमा समेत सांस्कृतिक सद्भावको पर्वका रूपमा विस्तार हुँदै गएको छ ।

