काठमाडौँ । निरोशन डिकवेलाको विस्फोटक अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको सहज जितमा ‘प्लेयर अफ द म्याच’ बनेका विकेटकिपर ब्याटर डिकवेलाले अविजित ५९ रनको निर्णायक इनिङ्स खेले । आक्रामक ब्याटिङ गरेका उनले ३७ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले २८ बलमा २१ रन जोड्दै इनिङ्स सम्हालेका थिए भने दिलीप नाथ १० रनमा अविजित रहे । सुदूरपश्चिमका बलर थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले समान १-१ विकेट हात पारे पनि टोलीको हार टार्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र जोड्न सक्यो । लुम्बिनीको धारिलो बलिङसामु सुदूरपश्चिमका अधिकांश ब्याटर निरीह देखिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ३ चौका र १ छक्कासहित ५२ रनको संघर्षपूर्ण अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए । इशान पाण्डेले ३३ बलमा २७ रन बनाउनुबाहेक सुदूरपश्चिमका अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए । यस्तै, शेर मल्लले २ तथा किशोर महतो र अभिषेक गौतमले १-१ विकेट झारे । गत सिजनको फाइनल र जारी सिजनको लिग चरणमा समेत सुदूरपश्चिमलाई हराएको लुम्बिनीले यस जितसँगै सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित दर्ता गरेको छ ।
यस जितसँगै लुम्बिनी मंसिर ५ गते (नोभेम्बर २१) हुने फाइनलका लागि सिधै छनोट भएको छ । पराजित सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना भने अझै जीवितै छ । सुदूरपश्चिमले अब बुधबार हुने काठमाडौँ गोर्खाज र चितवन राइनोजबीचको एलिमिनेटर विजेतासँग मंसिर ३ गते (नोभेम्बर १९) दोस्रो क्वालिफायर खेल्नेछ ।

