काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
उक्त अवसरमा दुई देशबीचको दीर्घकालीन सम्बन्ध, बहुआयामिक सहकार्य र विशेष गरी स्वास्थ्य क्षेत्रमा पुर्याउन सकिने थप सहयोगका विषयमा गम्भीर छलफल भएको छ ।
भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जापान सरकारले पुर्याएको तत्कालीन राहत, आवश्यक प्राविधिक उपकरण र प्रविधिसम्बन्धी सहायताप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल एवं कान्ति बाल अस्पताल जस्ता मुलुकका प्रमुख स्वास्थ्य संस्थाहरूमा जापानले गर्दै आएको निरन्तर सहयोगको उच्च प्रशंसा गर्नुभयो ।
जवाफमा राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकतालाई ध्यानमा राखेर जापान सहयोग विस्तार गर्न सधैँ तयार रहेको बताउनुभयो । उहाँले आगामी दिनहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाउनुभयो ।

