काठमाडौँ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा नेपाल र भारतका सेनाबीचको संयुक्त सैन्य तालिम अभ्यास–सूर्यकिरणको २० औँ संस्करण आजबाट औपचारिक रूपमा सुरु भएको छ । श्री मध्य पश्चिम पृतना हे. क्वा.का पृतनापति उपरथी पूर्ण बहादुर खत्रीले तालिमको शुभारम्भ गरेका हुन् ।
दुवै देशका गण स्तरका फौज सहभागी रहेको यो अभ्यास आगामी मंसिर २२ गते अन्त्य हुने तय गरिएको छ । विसं २०६७ देखि नेपाल र भारतमा प्रत्येक वर्ष आलोपालो प्रणालीअनुसार आयोजना हुँदै आएको अभ्यास–सूर्यकिरणको अघिल्लो अर्थात् १९ औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।
तालिम अवधिभर दुवै मुलुकका सैनिकहरूले विपद् व्यवस्थापन, जंगल युद्धकला तथा मानवीय सहायता लगायतका क्षेत्रमा सैद्धान्तिक, व्यवहारिक र विशिष्टीकृत अनुभव साटासाट गर्नेछन् ।
नेपाली सेनाका अनुसार यस्तो संयुक्त अभ्यासले दुई राष्ट्रबीच सदियौँदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनेछ । साथै, यसबाट दुवै सेनाका सकलदर्जामा व्यावसायिक दक्षता अभिवृद्धि हुनुका साथै आपसी समझदारीसमेत बलियो हुने अपेक्षा गरिएको छ ।

