इलाम । जिल्लामा व्यावसायिक रूपमा गरिएको अकबरे खुर्सानी खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् ।
उत्पादन दिने मुख्य सिजनमै बोट एकाएक पहेँलिने, सुक्ने र मर्ने समस्या देखिएसँगै यहाँका किसानहरूको वर्षभरिको मिहिनेत र लगानी जोखिममा परेको हो ।
माङसेबुङ गाउँपालिकाका किसान प्रदीप राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा १ हजार ८०० बोट अकबरे खुर्सानी रोपेका थिए । अघिल्लो वर्ष राम्रो आम्दानी लिएका उनले यस पटक खेती बिस्तार गरे पनि फल लाग्ने बेलामै बोट डढ्ने र कुहिने समस्या देखिएको बताए । उनले भने, “बोट राम्ररी हुर्किएर फल लाग्न थालेपछि फल कालो हुने र कुहिने समस्याले गर्दा सबै लगानी डुब्ने अवस्था आएको छ ।”
प्रदीपजस्तै सोही ठाउँका जीवन राई र कल्पना राईले पनि अकबरे खेतीमा ठूलो क्षति ब्यहोर्नुपरिरहेको छ । फल पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने तथा बोट सुक्ने समस्या देखिएको एक महिनामै बगान सखाप भएको उनीहरूको गुनासो छ ।
परम्परागत खाद्यान्न बालीको विकल्पमा नगदे बालीका रूपमा फैलिँदै गएको अकबरे खुर्सानी स्थानीय बजारदेखि झापाको दमकसम्म बगानबाटै प्रतिकेजी २०० देखि २५० रुपैयाँमा बिक्री हुने गरेको थियो ।

