काठमाडौँ । कमिल मिश्राको विस्फोटक शतकीय इनिङसँगै चितवन राइनोजले काठमान्डु गोर्खाजमाथि ६१ रनको सानदार जित दर्ता गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । अब चितवनले फाइनल यात्रा तय गर्न बिहीबार सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।
२०५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा १ सय ४३ रन मात्र जोड्न सक्यो । काठमान्डुको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा चितवनका रिजन ढकालले ४ तथा उस्मान मिरले ३ विकेट हात पारे । काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बलमा ३७ रन बनाउनु नै सर्वाधिक स्कोर बन्यो । त्यस्तै, भिम सार्की ३० रनमा अविजित रहे भने सहन अराघचीले २४, रसिद खानले १२ र सन्तोष यादवले १० रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रनको विशाल योगफल तयार पारेको थियो । चितवनलाई उच्च स्कोरसम्म पुऱ्याउन श्रीलंकन ब्याटर कमिल मिश्राले ५९ बलमा ५ चौका र १० छक्काको मद्दतले १ सय २० रनको अविजित शतकीय इनिङ खेले । यो एनपीएल इतिहासकै पाँचौँ तथा जारी संस्करणको दोस्रो शतक हो । यसअघि पोखराका युवराज सिंह साम्राले शतक प्रहार गरेका थिए । मिश्रा र कप्तान रवि बोपाराबिच तेस्रो विकेटका लागि १ सय ५४ रनको महत्वपूर्ण साझेदारी भएको थियो । बोपाराले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।
समूह चरणमा तेस्रो र चौथो स्थानमा रहेका टोलीबिच इलिमिनेटर खेल खेलाइएको हो । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । बिहीबार हुने सुदूरपश्चिम र चितवनबिचको विजेताले उपाधिका लागि लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।

