काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी, अनुत्तरदायी र फासीवादतर्फ उन्मुख रहेको गम्भीर आरोप लगाएका छन् ।
पार्टीद्वारा आयोजित राष्ट्रिय भेलाको उद्घाटन सत्रमा उनले मुलुक अहिले गहिरो आतंक, भय र त्रासको वातावरणबीच असंवैधानिक तथा गैरकानुनी गतिविधिको दबाबमा चलेको दाबी गरे ।
विगतमा हिंसा, तोडफोड र आगजनीजस्ता अलोकतान्त्रिक तौरतरिकाबाट संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम भएको बताउँदै उनले तिनै गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको प्रस्ट्याए । देशको अर्थतन्त्र निरन्तर ओरालो लागेको र राज्यको ढुकुटीमा खर्बौं रुपैयाँ थन्किए पनि पीडित जनताले राहत पाउन नसकेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले सामाजिक मूल्यमान्यता खस्कँदै गएको र समाज गलत दिशातर्फ धकेलिएको बताए । नेपाली भाषा, संस्कृति तथा सभ्यतामाथि सुनियोजित हमला भइरहेको औंल्याउँदै उनले सरकारको अदूरदर्शीपनका कारण शिक्षा र स्वास्थ्य क्षेत्र पूर्ण रूपमा अस्तव्यस्त बनेको आरोप लगाए ।
अस्पतालमा उपचार नपाएर सडक किनारमै प्रसूति व्यथा सहनुपर्ने वा शिशु जन्माउनुपर्ने जस्ता लज्जास्पद र अमानवीय अवस्था महिलाहरूले भोग्नुपरेको भन्दै उनले यसलाई शासनप्रणालीको गम्भीर असफलता भनी टिप्पणी गरे ।

