काठमाडौँ । देशका विभिन्न भागमा लगातार भएको वर्षा, पहिरो र बाढीका कारण सातवटा जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध हुन पुगेका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार आइतबार बिहानसम्म ललितपुर, खोटाङ, काभ्रेपलाञ्चोक, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न स्थानमा यातायात सेवा प्रभावित भएको हो ।
प्रहरीका अनुसार ललितपुरको कान्तिलोकपथ (बागमती गाउँपालिका–३) र सुन्दरीजलस्थित बागमती करिडोर (ललितपुर महानगरपालिका–२८) पहिरो र वर्षाका कारण पूर्ण रूपमा बन्द भएका छन् । यसैगरी, कोशी प्रदेशको खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१ लुकुवीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित रोशी गाउँपालिकामा पहिरो जाँदा बीपी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ भने यसलाई आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
अन्य केही क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । गण्डकी प्रदेशको गोरखामा आरुघाट र सोतीखोला जोड्ने पुल अवरुद्ध हुँदा आवतजावत प्रभावित भएको छ । मुस्ताङको जोमसोम–कोरला सडकखण्डअन्तर्गत दुई स्थानमा सडक प्रभावित भए पनि अहिले एकतर्फी रूपमा खुलाइएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशको पाल्पामा कालीगण्डकी करिडोर र कर्णाली प्रदेशको सुर्खेतमा कर्णाली राजमार्ग पनि पहिरोका कारण प्रभावित भई हाल एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन् ।

