काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व तिहार अन्तर्गत आज पहिलो दिन धनतेरस (धनत्रयोदशी) देशभर हर्षोल्लासका साथ मनाइँदै छ ।
कात्तिक कृष्ण त्रयोदशीका अवसरमा आज देशभरका हिन्दू धर्मावलम्बीहरूले धनतेरस पर्व श्रद्धापूर्वक मनाइरहेका छन् । यस विशेष दिनमा आरोग्य र स्वास्थ्यका देवता भगवान् धन्वन्तरीका साथै धनका अधिपति कुवेर र धनकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक मान्यता अनुसार समुद्र मन्थनका क्रममा आजैका दिन भगवान् विष्णुका अवतार मानिने भगवान् धन्वन्तरी हातमा अमृत कलश लिएर प्रकट हुनुभएको धार्मिक विश्वास रहिआएको छ ।
यस पर्वलाई घरमा सुख, शान्ति र समृद्धि भित्र्याउने शुभ अवसरको रूपमा लिइने गरिन्छ । यही विश्वासका आधारमा मानिसहरूले यस दिन सुन, चाँदी, पित्तलका नयाँ भाँडाकुँडा, नयाँ सवारीसाधन तथा घरायसी प्रयोजनका सामाग्रीहरू खरिद गर्ने गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अनुसार आज धनत्रयोदशी र यमदीपदानको तिथि रहेको छ भने शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।
बजारमा विशेषगरी भगवान् धन्वन्तरीलाई प्रिय लाग्ने पित्तलका थाल, गिलास, कचौरा र कलशहरूको खरिद-बिक्री अत्यधिक हुने गर्दछ । यसका साथै घरमा लक्ष्मी-गणेश अंकित चाँदीका सिक्का, कुवेर यन्त्र, श्री यन्त्र तथा कुचो ल्याउनाले वर्षभरि आर्थिक संकट नहुने र आरोग्यता प्राप्त हुने जनविश्वास छ । आजका दिनदेखि भाइटीकाको दिनसम्म कुनै पनि व्यावसायिक वा व्यक्तिगत कारोबारमा उधारो नगर्ने परम्परा समेत रहिआएको छ ।

