काठमाडौँ । बिचौलिया प्रकरणमा नाम जोडिएपछि बिदामा बसेका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र नवनियुक्त चार न्यायाधीशले मङ्गलबारदेखि नियमित मुद्दाको सुनुवाइ थालेका छन् ।
तिहार र छठ पर्वको सार्वजनिक बिदा सकिएर अदालत खुलेसँगै पाँचै जना न्यायाधीश इजलासमा फर्किएका हुन् ।
पक्राउ परेका बिचौलिया इनम सापकोटाको मोबाइलबाट बरामद ह्वाट्सएप सन्देश र भेटघाटको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालको भूमिकामाथि प्रश्न उठेको थियो । विवाद चर्किएपछि उनी कात्तिक १७ गतेदेखि बिदामा बसेका थिए । सोही प्रकरणमा मुछिएर सुनुवाइबाट अलग रहेका प्रधानन्यायाधीश डा. मनोज शर्मा पनि मङ्गलबारदेखि इजलासमा फर्किएका छन् । चौतर्फी छानबिनको माग उठिरहेकै बेला दुवै जना नियमित न्याय सम्पादनमा फर्किएका हुन् ।
यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भई कात्तिक २७ गते पद तथा गोपनीयताको शपथ लिएका चार जना नवनियुक्त न्यायाधीशहरूले पनि मङ्गलबार पहिलो पटक इजलास सम्हालेका छन् । सर्वोच्च अदालतले सार्वजनिक गरेको पेसी सूचीअनुसार नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दको प्रधानन्यायाधीश शर्मासँग संयुक्त इजलास तोकिएको छ ।
त्यस्तै, अर्का नवनियुक्त न्यायाधीश गोकर्ण डाँगीले विवादित न्यायाधीश फुयालसँग संयुक्त इजलास साझा गरेका छन् । नवनियुक्त न्यायाधीशद्वय चन्द्रबहादुर सारुलाई न्यायाधीश टेकप्रसाद ढुङ्गानासँग र जनक पाण्डेलाई न्यायाधीश नहकुल सुवेदीसँग संयुक्त इजलास तोकिएको छ ।
चार नयाँ न्यायाधीशले कार्यभार सम्हालेसँगै सर्वोच्च अदालतमा न्यायाधीशको सङ्ख्या २० पुगेको छ । सर्वोच्चमा अझै एक न्यायाधीशको पद रिक्त छ ।

