काठमाडौँ । रुसको साइबेरियाली क्षेत्रअन्तर्गत पर्ने केमेरोभोमा एक ठूलो हवाई दुर्घटना भएको छ ।
रुसी रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार, नियमित उडानको क्रममा रहेको एक सैन्य मालवाहक विमान अचानक दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त एन–१२ जातको मालवाहक विमान कुनै मानव बस्ती नरहेको सुनसान क्षेत्रमा खसेको अधिकारीहरूले बताएका छन् । प्रारम्भिक विवरणहरूका अनुसार प्राविधिक गडबडी नै यो भीषण दुर्घटनाको मुख्य कारण हुन सक्ने आशङ्का गरिएको छ ।
घटनाको बारेमा थप सत्यतथ्य पत्ता लगाउन र विस्तृत छानबिन अगाडि बढाउन रुसी उड्डयन प्राधिकरणले विशेष अनुसन्धान टोली परिचालन गरेको छ । दुर्घटनाको खबर बाहिरिएसँगै उद्धारकर्ताहरूलाई तुरुन्तै परिचालन गरिएको भए पनि विमानमा सवार कोही पनि जीवित बच्न सफल भएनन् ।

