काठमाडौँ । नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको गिरफ्तारी विरुद्ध राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका सिलसिलामा पौडेललाई हिजो साँझ सुर्खेतबाट नियन्त्रणमा लिइएपछि एमालेले यस्तो रणनीति तय गरेको हो ।
घटना लगत्तै एक विज्ञप्ति जारी गर्दै एमालेले यस कदमको तीव्र विरोध जनाएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पौडेलको पक्राउलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधको उपज भनिएको छ । सरकारले सस्तो लोकप्रियता कमाउन र ‘स्टण्ट’ बाजी गर्न यो कदम चालेको एमालेको आरोप छ ।
वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोमा अघि बढेको दाबी गर्दै एमालेले विपक्षी दलका नेताहरूलाई निशाना बनाएर गरिने यस्ता प्रतिशोधपूर्ण कार्य तत्काल रोक्न चेतावनी समेत दिएको छ । यसै गरी, एमाले महासचिव शङ्कर पोखरेलले पनि पौडेलको गिरफ्तारी प्रचलित न्याय प्रक्रियाको पूर्ण विपरीत रहेको दाबी गर्नुभएको छ ।

