काठमाडौँ । धितोपत्र बजारमा हप्ताको अन्तिम कारोबार दिन शुक्रबार पनि सूचकमा ओरालो लाग्ने क्रम रोकिएन ।
लगातार उतारचढावबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले ओरालो लागेर २६४९.५१ विन्दुमा ओर्लिएर बन्द भएको छ । आज बजारमा कुल ३५९ कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँ बराबरको वित्तीय कारोबार भएको छ । समूहतर्फ हेर्दा होटल्स, हाइड्रोपावर, म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ उपसमूहमा सुधार देखिए पनि बाँकी सबै क्षेत्रका लगानीकर्ताले गुमाएका छन् ।
उतारचढावका बीच आज स्नो रिभरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको सेयर मूल्यमा पनि १४.९८ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ । अर्कोतर्फ, कालिका लघुवित्तका सेयरधनीले आज सबैभन्दा बढी नोक्सानी ब्यहोरेका छन्, जसको सेयर मूल्य १०.७६ प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा आज ऋणपत्रतर्फ आकर्षण देखिएको छ, जहाँ ग्लोबल आइएमई डिबेन्चर २०८६/८७ को ३३ करोड ३१ लाख रुपैयाँ र ग्लोबल आइएमई डिबेन्चर २०८४/८५ को २८ करोड ५७ लाख रुपैयाँ बराबरको सर्वाधिक कारोबार भएको छ ।

