संखुवासभा । अविरल वर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका-१ मा पहिरो जाँदा सात परिवारको बिचल्ली भएको छ ।
शनिबार रातिदेखिको लगातारको झरीले तल्लो तेन्छोङ गाउँको माथिल्लो भेगको जमिन फाटेर पहिरो बग्न थालेपछि ती परिवारहरू आफ्नो थातथलो छाडेर हिँड्न बाध्य भएका हुन् । प्राकृतिक विपत्तिका कारण स्थानीय दुईवटा विद्यालय, यातायातका सडक, जलविद्युत् आयोजना र सञ्चार सेवा पूर्ण रूपमा बन्द हुँदा सो भेगका नागरिकको दैनिक जीवन निकै कष्टकर बनेको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले दिएको जानकारी अनुसार पहिरोका कारण कुन्ती राई, धनपूर्ण राई, मंगलबहादुर राई, सुकप्रसाद राई, मिरा राई, धनमान राई र अरुणसंगम राईको परिवार विस्थापित भएका छन् । बस्ती नै संकटमा परेपछि स्थानीय सिसुवा प्रहरी चौकी र गाउँपालिकाको आपसी समन्वयमा उनीहरूलाई तत्कालै सुरक्षित ठाउँमा सारिएको छ । घटनास्थलमा थप उद्धार कार्य, अनुगमन र भौतिक क्षतिको यकिन विवरण संकलन गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको कमाण्डमा १० जनाको टोली पठाइएको छ ।
यस प्राकृतिक विपद्को सबैभन्दा ठूलो मार स्थानीय विद्यालय र भौतिक संरचनामा परेको देखिन्छ । सिलिचोङ-१ नेवाटारमा रहेको कालिका माध्यमिक विद्यालयको भवनमाथिबाट खसेको पहिरोले १५ वटा कक्षाकोठामा गम्भीर क्षति पुर्याएको छ भने महत्वपूर्ण शैक्षिक सामग्रीहरू पुरिएका छन् । यसैगरी सिलिचोङ-४ को बागेश्वरी आधारभूत विद्यालयमा पनि पहिरोले क्षति पुर्याएपछि दुवै विद्यालयको पठनपाठन पूर्ण रूपमा रोकिएको छ । गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार यी विद्यालय भवनहरू भत्किने जोखिममा रहेकाले अब तिनलाई पूर्ण रूपमा नयाँ र सुरक्षित ठाउँमा सार्नुपर्ने आवश्यकता छ ।
बाढीपहिरोका कारण सिलिचोङ गाउँपालिकाको केन्द्र जोड्ने सम्पूर्ण सडक तथा गोरेटो बाटाहरू अवरुद्ध भएका छन् । सिसुवाखोलामा आएको बाढीले स्थानीय दुईवटा लघुजलविद्युत् आयोजनाहरू पूर्ण रूपमा नष्ट गरिदिएको छ भने केन्द्रीय विद्युत् प्रसारण लाइनसमेत बन्द भएको छ । गाउँपालिका क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा करिब ७० प्रतिशत प्रभावित भएकाले सरकारी कार्यालयहरूबाट दिइने दैनिक सेवाहरू प्रभावित भएको अध्यक्ष मेवाहाङले बताए ।
अहिले सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायत दर्जनौँ गाउँहरू पहिरोको उच्च जोखिममा परेका छन् । जोखिम बढेपछि स्थानीय बासिन्दाहरू घर छाडेर सामूहिक रूपमा सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् । गाउँपालिकाले एक विज्ञप्ति निकाल्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई थप सजग रहन अनुरोध गरेको छ ।
लगातारको वर्षा र सडक अवरोधले गर्दा दुर्गम क्षेत्रमा राहत तथा उद्धार व्यवस्थापनमा निकै कठिनाइ भइरहेकाले गाउँपालिकाले कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आपत्कालीन सहयोग र पुनस्र्थापनाका लागि गुहार मागेको छ ।

