पर्वत । जलजला गाउँपालिका-६ ठोट्नेरीका ५३ वर्षीय गोरबहादुर विक एक बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी नियन्त्रणमा परेका छन् । १२ वर्षीया ती बालिकालाई ललाई-फकाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
घटना विवरण अनुसार पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी पर्नासाथ सक्रिय भएको प्रहरी टोलीले अभियुक्त विकलाई नियन्त्रणमा लिएको थियो । हाल प्रहरीले पक्राउ परेका विकमाथि हिरासतमा राखेर थप कानुनी अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीका अनुसार विस्तृत स्वास्थ्य परीक्षणका लागि अभियुक्तलाई कुश्मास्थित प्रदेश अस्पताल पठाइएको छ । यता पीडित बालिकाको पनि स्वास्थ्य परीक्षण भइसकेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

