काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा ठुलो गिरावट आए पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडा भने सामान्य मात्र घटाइएको छ ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश मार्गमा सञ्चालन हुने यातायातका साधनमा २ प्रतिशत मात्र भाडा समायोजन गर्ने निर्णय गरेको हो ।
यसअघि प्रतिलिटर दुई सय ३५ रुपैयाँ ८३ पैसा रहेको डिजेलको औसत मूल्य हाल घटेर एक सय ९३ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसरी इन्धनको मूल्यमा १८ प्रतिशतभन्दा बढीको गिरावट आएको भए पनि विभागले न्यून मात्रामा मात्र भाडा घटाएको देखिन्छ । वैज्ञानिक भाडा समायोजन प्रणालीको नियम अनुसार इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले थपघट भएमा स्वचालित रूपमा भाडा परिवर्तन गर्नुपर्ने प्रावधान रहेको छ ।
विभागको नयाँ निर्णय अनुसार अब यात्रुवाहक सवारी साधनका साथै पहाडी र तराईका क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनहरू सबैमा समान रूपमा दुई प्रतिशत भाडा घट्नेछ । यो परिमार्जित भाडादर यही असार १८ गतेदेखि नै लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशलाई जोड्ने राष्ट्रिय स्तरका रूटहरूमा कार्यान्वयनमा आउने विभागले जनाएको छ ।


