काठमाडौँ । फिफा विश्वकप फुटबलको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा भोलि पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । टोरन्टो रंगशालामा हुने यो महत्वपूर्ण खेल नेपाली समय अनुसार भोलि बिहान ४ : ४५ बजेदेखि सुरु हुनेछ ।
यस खेलमा पोर्चुगलको मुख्य आशा कप्तान क्रिस्टियानो रोनाल्डोमाथि टिकेको छ । ४१ वर्षीय रोनाल्डोले समूह चरणको पहिलो खेलमा उज्बेकिस्तानविरुद्ध दुई गोल गरे पनि कङ्गो लोकतान्त्रिक गणतन्त्र र कोलम्बियाविरुद्ध भने गोल गर्न सकेनन् । विश्वकपको नकआउट चरणमा अहिलेसम्म एक गोल पनि गर्न नसकेका रोनाल्डोका लागि क्रोएसियाविरुद्धको खेल नकआउट चरणको नवौँ खेल हुनेछ । यसअघिका आठ नकआउट खेलमा उनले २9 पटक प्रहार गरे पनि सफलता पाउन सकेका छैनन् । सन् १९६६ यताको तथ्याङ्क अनुसार नकआउट चरणमा गोल नगरी सबैभन्दा धेरै प्रहार गर्ने खेलाडीको सूचीमा उनी ब्राजिलका रोबर्टो कार्लोससँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगल समूह ‘के’ मा दोस्रो हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । समूह चरणमा पोर्चुगलले कङ्गोसँग १-१ को बराबरी खेल्यो, उज्बेकिस्तानलाई ५-० ले पराजित गर्यो र कोलम्बियासँग गोलरहित बराबरीको नतिजा निकाल्यो । यस क्रममा पोर्चुगलले कुल १ हजार ६९० पास पूरा गर्दै विश्वकप इतिहासकै सबैभन्दा धेरै पासको कीर्तिमान समेत बनाएको छ । टोलीले औसत ६२.५ प्रतिशत बल नियन्त्रणमा राखे पनि गोल गर्ने अवसर सिर्जनामा भने केही कमजोरी देखिएको छ । टोलीले गरेका ३७ प्रहारमध्ये १२ प्रहार मात्र लक्ष्यमा पुगेका थिए ।
प्रतियोगितामा हालसम्म अपराजित पोर्चुगलका लागि मध्यपङ्क्तिका खेलाडी भिटिन्हाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले समूह चरणमा २७० पास पूरा गर्दै विश्वकपको समूह चरणमा कुनै पनि पोर्चुगिज खेलाडीले गरेको सबैभन्दा धेरै पासको कीर्तिमान आफ्नो नाममा गरे । कोलम्बियाविरुद्धको खेलमा उनले गरेका सबै ५४ पास सफल भएका थिए, जुन शतप्रतिशत सफलतासहित विश्वकप इतिहासमा कुनै पनि मिडफिल्डरले पूरा गरेको संयुक्त रूपमा सबैभन्दा धेरै पास हो ।
अर्कोतर्फ, क्रोएसियाले प्रतियोगिताको सुरुआत सुखद गर्न सकेको थिएन । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४-२ ले पराजित भए पनि प्रशिक्षक ज्लाट्को डालिचको टोलीले उत्कृष्ट पुनरागमन गर्दै पानामालाई १-० र घानालाई २-१ ले हरायो । समूह ‘एल’ मा दोस्रो स्थान हासिल गर्दै क्रोएसियाले अन्तिम ३२ मा पोर्चुगलसँगको भेट पक्का गरेको हो ।
क्रोएसिया विश्वकपको नकआउट चरणमा पुगेको यो चौथोपटक हो । यसअघि सन् १९9८, २०१८ र २०२२ मा पनि टोलीले पहिलो नकआउट खेल जित्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । अनुभवी कप्तान लुका मोड्रिचले यो खेल खेलेमा विश्वकपमा उनको २३औँ उपस्थिति हुनेछ र उनी पाओलो माल्दिनी र मानुएल नोयरसँग संयुक्त रूपमा विश्वकपमा पाँचौँ धेरै खेल खेल्ने खेलाडी बन्नेछन् ।
दुई टोलीबीचको हेड-टु-हेड इतिहास हेर्दा पोर्चुगल बलियो देखिन्छ । हालसम्म भएका १० भेटमा पोर्चुगलले ७ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् । क्रोएसियाले केवल १ खेल मात्र जित्न सकेको छ । प्रतिस्पर्धात्मक खेलहरूमा पोर्चुगलले क्रोएसियाविरुद्ध खेलेका ६ खेलमध्ये ५ मा जित र १ मा बराबरीको नतिजा निकालेको छ ।
विश्वकपमा युरोपेली टोलीहरूविरुद्ध सुरुआती ९ खेलमध्ये केवल १ खेल हारेको क्रोएसियाले पछिल्ला तीन खेलमा भने जित निकाल्न सकेको छैन ।

