रौतहट । गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध दुई करोड ५७ लाख ६२ हजार रुपियाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा समनपुर नाकाबाट बालुवा, गिट्टी र ग्राभेल उत्खनन्, सङ्कलन तथा बिक्री वितरणको आय ठेक्कामा राजस्व रकम हिनामिना गरेको ठहर गर्दै आयोगले मङ्गलबार आरोपपत्र दायर गरेको हो ।
मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणी कनस्ट्रक्सन कम्पनी प्रा.लि.का मुख्य व्यक्ति राधेश्याम साह रहेका छन् । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूमाथि राजस्व चुहावट गरी सरकारी सम्पत्ति नोक्सान पुर्याएको अभियोग लागेको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) अनुसारको कसुरमा बिगो रकम दुई करोड ५७ लाख ६२ हजार रुपियाँ कायम गरेको छ । उक्त बिगो बमोजिम कैद सजाय र बिगोको दोब्बर जरिवाना रकम असुलउपर गर्न मागदाबी गर्दै काठमाडौँस्थित विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

