काठमाडौँ । मुलुकभरका अधिकांश ठूला तथा साना नदी र खोलाहरूमा आगामी तीन दिनसम्म पानीको सतह बढ्ने चेतावनी दिँदै सतर्क रहन सरकारी निकायले आह्वान गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग मातहतको बाढी पूर्वानुमान महाशाखाले विशेषगरी आज र भोलि पहाडी क्षेत्रका साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याएको हो । हाल देशका प्रमुख नदी प्रणालीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै अन्य सहायक नदीहरूको बहाव सामान्य अवस्थामा रहे पनि आगामी दिनमा यसमा ठूलो वृद्धि हुने महाशाखाले जनाएको छ ।
आज कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, बबई, पूर्व राप्ती र पश्चिम राप्ती लगायतका अधिकांश नदीमा पानीको सतह बढ्ने र यो क्रम पर्सिसम्मै जारी रहने देखिन्छ । महाशाखाका अनुसार आज पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।
यसैगरी काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक क्षेत्रका साना नदी तथा खोलाहरूमा भने बाढीको उच्च जोखिम रहेको औंल्याइएको छ । भोलि र पर्सि पनि सातै प्रदेशका विभिन्न साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार, डुबान भइरहने क्षेत्र र खोल्सा आसपास बस्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

